सफलतामा अहंकारी, विफलतामा वैरागी।

Bhojraj Bhatta
3 min readApr 20

--

सफलतामा अहंकारी नबनौं र विफलतामा वैरागी पनि नबनौं।

Rev. Benjamin (Left), Rev. Stanley (Right)

यो हप्ता मेरो विश्वासी जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पार्ने दुई जना प्रभुका सेवकहरू आफ्नो संसारिक यात्रा पूरा गरेर प्रभुमा सुत्नुभयो।

पहिलो व्यक्ति हुन् पास्टर बेन्जामिन श्रेष्ठ। मैले विश्वास गरेको केही समय पछि नेपालगन्जको ज्योति निवास चर्चमा एक महिना सेवा गर्दा उहाँसँग समय बिताउने मौका मिलेको थियो।

त्यसपछि काठमाण्डोमा एउटा बाइबल स्कूलमा पढाउँदा दाजु र म केही महिनाको लागि एउटै कोठामा बसेका थियौं। आफ्नो सरकारी जागिरकै सिल्सिलामा दाजु अस्ट्रेलिया जान काठमाण्डोमा IELTS अध्ययन गर्न आउनुभएको थियो। उहाँको त्यो नम्र स्वभाव, मायालु बोली र सदैव सहयोग गर्ने हात मैले कहिल्यै बिर्सेन। दु:खको कुरा, परिस्थितिले हामीलाई सँगै सेवा गर्ने मौकाबाट बञ्चित गर्यो र लामो समय सम्म पनि शारीरिक अवस्थामा भेट गर्नै नपाई उहाँले संसार छोडेको खबरले मलाई कता कता एकलो भएको महसूस गरायो। आज भोलि भरे भन्दै जीवन यहाँ अस्ताउँछ भन्ने भजन कति अर्थपूर्ण छ!

अर्का प्रभुका सेवकले पनि केही दिन अघि विदा लिएको खबरले झनै उदास बनायो। मेरो विश्वासी जीवनको यात्रामा अपरिचित व्यक्तिहरूले पनि धेरै ठूलो भूमिका खेलेका छन् र तिनै अपरिचित व्यक्तिहरूमध्य एउटा हुन् पास्टर चार्ल्स स्ट्यान्लि। शालीन व्यक्तित्वका धनी, र बाइबललाई जीवन्त बनाएर विश्वासी माझ सरल तरिकाले प्रस्तुत गर्ने वरदानले भरिएका पास्टर स्ट्यान्लिको जीवन गवाही पनि उत्तिकै मार्मिक थियो। जीवनका हरेक उतार चढावका बाबजुद आफ्नो बोलावटमा अडिग रहेर मानिसलाई भन्दा परमेश्वरलाई रिझाउनु उनको असल उदाहरण मध्य एक थियो। इन्टरनेको जमाना आउन अघि उनका पुस्तक र क्यासेट टेपले मलाई पनि उनको सेवामा प्रवेश गर्ने अवसर प्रदान गरेको थियो भने इन्टरनेटको आगमन पछि दिनहुँ उनका वचन नसुनि निन्द्रा नै नलाग्ने भएको थियो।

अचानक यी असल प्रभुका सेवकले विदा लिएको देख्दा जीवन कति छोटो छ जस्तो लाग्छ। हिजो जस्तै लाग्छ बेन्जामिन दाजुसँग समय बिताएको। त्यतिखेर त उहाँ अधवैंसे उमेरको सुन्दरता र सफलताको सिँढीमा चढ्दै हुनुहुन्थ्यो तर थाहै नपाई ७८ वर्षमा बिदा हुनुभयो।

पास्टर स्ट्यान्लिको वैवाहिक जीवनमा आएको तुफानले अब उनको सेवा सिद्धियो भनेर लेखिएका समाचारहरू पनि पढेको हिंजो जस्तै लाग्छ। तर उहाँले त्यो तुफानको सामना गर्दै ९० वर्ष सम्म अविरल सेवामा रहेर प्रभुलाई भेट्न जानुभएको देखेर ती समाचार लेखकहरूको अवस्था कस्तो छ होला भन्ने प्रश्नहरू पनि मनमा उठेका छन्।

जीवन सफलता र विफलताको संगम हो। तर हामी सफलता हुँदा सजिलै अहंकारी र विफलता हुँदा छिटै वैरागी भैदिन्छौं र परमेश्वरले दिने अनुग्रहलाई पूर्णरूपले अनुभव नगरेरै संसारबाट बिदा हुनपुग्छौं।

बेन्जामिन दाजु सँगै अन्य अग्रज नेपाली पास्टरहरूसँग पनि मैले संगत गर्ने मौका पाएको थिएँ तर उहाँहरूमा भएको आत्मिक अहंकार, साम्प्रदायिक मानसिकता, र भौतिक सम्पत्ति प्रतिको मोहलाई देखेर धेरै पटक म निराश भएको थिएँ। त्यसै निराशाको कारण होला आज पनि मेरो आत्मिक यात्रामा नामी, हुनेखाने, टाँठाबाँठा, र शक्तिशाली पास्टरहरूको समुहमा बसेर उहाँहरूको अहंकार र लोभमा सहमतहुँदै ताली बजाउनु भन्दा बरू एकल यात्रामा नै आनन्दित हुन्छु।

तापनि असल प्रभुका दासहरूले सांसर छोड्दा कता कता एकलो महसूस हुँदो रहेछ। तर अर्कोतिर उहाँहरूले देखाउनुभएको उदाहरणलाई पछ्याउँदै मैले पनि जीवनको अन्तिम क्षण सम्म प्रभुको सेवा गर्नसके एकदिन त्यो समय आउनेछ जब हाम्रो कहिल्यै बिछोड हुनेछैन। त्यो दिन जब म पनि उहाँहरूले जस्तै प्रभु येशूको अनुहारमा हेरेर भन्न सक्नेछु कि प्रभु तपाईंले दिनुभएको एउटा तोडाबाट दुईटा बनाएको छुँ!

प्रिय जवान पास्टर र प्रभुका सेवक मित्रहरू, आफ्नो जवानी अवस्थाबाटै विश्वासयोग्य सेवक बनौं ताकि बुढेसकालमा आइपुग्दा हाम्रो जीवनमा स्वर्गको उत्तेजना बढोस् र आफू भन्दा पछिका पिँढीको लागि प्रेरणाको स्रोत बन्नसकौं। सफलतामा अहंकारी नबनौं र विफलतामा वैरागी पनि नबनौं।

--

--

Bhojraj Bhatta

Hindu by Birth. Christian by Choice. Nepalese by Citizenship. Writes About Life, Family, Bible, Church, Missions. Etc. http://youtube.com/brbhatta